राष्ट्रिय महिला फुटबल टिममा पुरुष खेलाडी खेलेको भन्दै लिंग जाँचको माग

  • कालापानी पोस्ट

एजेन्सी। इरानको राष्ट्रिय महिला फुटबल टिममा पुरुष खेलाडी खेलाइएको भन्दै ती खेलाडीको लिंग जाँचको माग गरिएको छ । इरानको राष्ट्रिय फुटबल टिमकी गोलकिपर पुरुष भएको भन्दै इरानको कट्टर प्रतिद्वन्द्वी जोर्डनले लिंग जाँचको माग गरेको हो । इरानले जोर्डनलाई पेनाल्टी सुटआउटमा जोर्डनलाई ४–२ ले पराजित गर्दै पहिलो पटक एसिया कपमा छनोट भएको थियो जुन खेलमा यी गोलकिपरले २ पेनाल्टी बचाएकी थिइन्।

जोर्डन फुटबल संघका अध्यक्ष प्रिन्स अली बिन अल हुसैनले इरानको महिला टिमकी गोलकिपर जोहरेह कोउडेइ पुरुष भएको आरोप लगाउँदै एसियाली फुटबल महासंघसँग उनको लिंगको पुष्टि गर्न माग गरेका हुन् । डेलीमेलको रिपोर्टअनुसार २५ सेप्टेम्बरमा उज्वेकिस्तानमा भएको जोर्डनविरुद्धको खेलमा यी खेलाडीले २ गोल बचाएपछि इरान एसिया कपमा छनोट भएको थियो।



जोर्डनले यस्तो माग गरेपछि एसियाली फुटबल महासंघका एक प्रवक्ताले यस विषयमा जाँच चलिरहेको भन्दै यसबारे कुनै टिप्पणी गर्न अस्वीकार गरे । फिफाका पूर्व उपाध्यक्ष समेत रहेका प्रिन्स अलीले यदि यो आरोप सत्य भए निकै गम्भीर मुद्दा भएको बताए । इरानी टिम म्यानेजरले भने आरोपको खण्डन गर्दै जोर्डनको टिमले खेल हारेपछि बहाना खोजिरहेको आरोप लगाएका छन्।

उनले यसअघि पनि जोहरेहले २००८ र २०१० मा एसिया कप छनोटमा आफ्नो देशको प्रतिनिधित्व गरेको बताउँदै हरेक पटक मेडिकल जाँच हुने र एसियाली फुटबल महासंघलाई सबै दस्तावेज उपलब्ध गराइएको बताए । जोर्डनले भने इरानको महिला टिममा लिंग र डोपिङ विवादको इतिहास रहेको बताएको छ।